मुकुन्दे प्रवृत्ति र छुवाछुतमुक्त समाज

भुवन सेन्चुरी

मुकुन्दे भन्ने मान्छेलाई हामी पागलको उपनाम दिन्छौं । दलितहरुको विषयमा उसले दिएका अापत्तिजनक विश्लेषणलाई नै मान्न सकिन्छ कि मुकुन्दे यो समाजको प्रवृत्ति हो । हामीलाई हेर्ने ५० प्रतिशत मान्छेहरुको दृष्टिकोण मुकुन्देको जस्तै नै हो तर मुकुन्देले देखाउँछ अरुले देखाउँदैनन् फरक यति मात्र हो ।
ब्राह्मण भन्ने जात होइन । कामी भन्ने जात होइन । क्षेत्री भन्ने जात होइन । यो त मान्छेहरुले गर्ने पेशा हो । यो त मान्नुहुन्छ । मान्नुहुन्छ भने कर्म गर्ने, पसिना बगाउने, सीप मुलक काम गर्ने मान्छे कसरी अछुत हुनसक्छ ? पेशाकै आधारमा विभेद गर्ने हो भने आज ग्रील उद्याेग एउटा बाहुनले चलाएका छन् । लोकल रक्सीको भट्टी राखेर आफ्ना परिवार पाल्ने बाहुन पनि छन् । आज अधिकारी, लामिछाने, श्रेष्ठ टेलर्स भन्ने बोर्ड बजारमा धेरै देखिन्छन् । हिजोको कटुवाल आजको पत्रकार हो । हिजोको सारङ्गी रेट्ने गन्धर्व आजको संगीतकार हो । हिजो नाँच्ने बादी महिला आजको डान्सर हो त्यसैले के सबैलाई तपाईले अछुत भन्ने आँट गर्न सक्नुहुन्छ ?
गैरदलितको छोराले दलितको छोरीलाई जबर्जस्ती बलात्कार गर्न खोज्यो भने आफ्नो छोरो जवान भएको बुझ्ने र मक्ख पर्ने तर दलितको छोराले गैरदलितको छोरीलाई मन परायो भने मात्र पनि मृत्युदण्ड दिने कस्तो न्याय हो, तपाईको समाजको ?
किनकी मेरो बुवाले पनि उहाँको साथीबाट विभेद खेप्नु परेन रे ! साथीको बुवा आमाले मात्र विभेद र छुवाछुत गर्नुहुन्थ्यो रे ! मैले पनि साथीबाट विभेद खेप्नु परेको छैन उहाँको बुवा आमाबाट मात्र विभेद खेप्नु पर्ने तर यो कसरी भयो ? मैले त नभोग्नु पर्ने हो नि तर भोग्दैछु । फेरि विद्यालयमा पनि विभेद गर्नु पर्छ भनेर सिकाईदैन नत कुनै सार्वजनिक ठाउँमा नै सिकाइन्छ अनि कहाँबाट जन्मिन्छ त यो विभेद र छुवाछुत ?
पहिलो पाठशाला घर नै हो जब बच्चा बोल्न सक्ने, सुन्न सक्ने हुन्छ तब उसको परिवारले कुशिक्षा दिन्छ । जब अलि आठ-दस वर्षको हुन्छ । उसलाई समाजले कुशिक्षा दिन्छ त्यसैले यो जातीय उचोनिचो भन्ने बिरामीलाई घरभित्रै उपचार गर्नुपर्छ । अाफ्ना बालबालिकालाई सहि शिक्षा दिन सकियो भने पक्कै पनि निर्मुल गर्न सकिन्छ । यदि त्यसाे गर्न सकिएन भने भोलि त्यही बालक युवा हुन्छ । अनि, बुवा बन्छ तब उसले आफ्ना छोराछोरीहरुलाई एउटा मात्र पाठ पढाउँछ । त्यो के हो भने दलितहरुसँग खेल्नु हुँदैन । उनीहरुलाई घरभित्र आउन दिनु हुँदैन । यिनीहरु फोहाेरी हुन्छन् । यिनीको चरित्र नराम्रो हुन्छ । यिनीहरु हेर्दा पनि काला नराम्रा हुन्छन् । यिनीहरु शिक्षा आर्जन गरेर पनि केही गर्न सक्दैनन् । यिनीहरुलाई मन्दिर छुन दिनु हुँदैन । धारा छुन दिनु हुँदैन । हाम्रो देउतालाई सहँदैन जस्ता धेरै धेरै कुसंस्कारहरुको कुशिक्षा आफैले दिने गर्छन् । त्यसैको फलस्वरुप उनीहरु फेरि आफ्नै बुवाको बिँडो धान्ने कोसिस गर्छन् अनि हामीलाई सधैं पशुभन्दा पनि नीच हो भन्ने बुझिरहन्छन् । चाहे उनीहरु मास्टर, डिग्री गरे पनि बच्चामा बुवाआमाले सिकाएको कुशिक्षा लागू गरिरहन्छन्, आफ्नो जीवनकालसम्म ।
कि बुवा बन्ने क्रम रोकिनु पर्यो कि सहि संस्कार, सहि शिक्षा दिनु पर्यो । होइन भने नवराजले प्रेम विवाह गर्छु भन्दा मारिनु पर्छ । अजित मिजारले अन्तर्जातीय विवाहकै कारण झुण्डाएर मारिन्छ ।
सेते दमाई छोरोले अन्तर्जातीय विवाह गरेकै कारण मारिन्छन् । मना सार्की छुवाछुतकै कारण कुटिएर मारिन्छिन् । मनवीर चुलो छोएकै निहुँमा मारिन्छन् । के यिनीहरुका मरिसकेका पितृहरु आएर दलितहरुलाई मार्छन् त ? पक्कै पनि होइन ।
त्यही मुकुन्दे प्रवृत्तिका मान्छेहरु नै हुन् जो समाजमा आफुलाई सभ्य मान्छे ठान्छन् र आफ्नो प्रवृत्तिलाई लुकाउँछन् अनि समय अनुकुल हुने बित्तिकै आफ्नो दानवीय चरित्र देखाउँछन् ।
त्यसैले आदरणीय कथित ठुला जातका साथीहरू हो तपाईको सभ्य समाज, छुवाछुत मुक्त समाज बनाउनमा तपाईहरुको नै धेरै योगदान हुन जरुरी छ ।
यो समाज हाम्रो पनि हो । पृथ्वी कसैको पेवा होइन । तपाईको जति अधिकार छ । मेरो पनि त्यति नै छ ।
युवासाथीहरु आउनुस् काँधमा काँध मिलाएर अगाडि बड्नु पर्छ किनकी हामीले पनि यो समाजलाई योगदान दिएका छौ । हाम्रो पनि धेरै लगानी छ । त्यसैले आम युवाहरु लाग्नै पर्छ । यतिबेला पनि हामीले समाजलाई छुवाछुत मुक्त बनाउन सकेनौं भने भोलिको पुस्ताले सराप्ने छ । जंगली जनावरको उपनाम दिने छ त्यसैले सुनौलो ईतिहास बनाउन कम्मर कसेर, हातमा हात काँधमा काँध जोडौं र विभेद, छुवाछुतलाई यो देशबाट निर्मुल पारेर संसारलाई देखाइदिउँ कि हामी पनि मान्छे भै सक्यौं ।