महिलामाथि हुने घरेलु हिंसा बढ्दो, कसरी सामना गर्न सकिएला ?

विपना दहाल/वैदिक मरासिनी

महिलामाथि हुने घरेलु हिंसाको विषय कुनै नयाँ विषय होईन। दिनानुदिन यसको नयाँ- नयाँ घटना सुनिन्छन्, चर्चा सुनिन्छन्। घरेलु हिंसा गलत हो भन्ने बारेमा प्रशस्त चर्चा भएपनि समाजमा कुनै महत्वपूर्ण परिवर्तन भएको महसुस गर्न भने सकिएको छैन।
एउटै घर भित्रको एउटा सदस्यले अर्को सदस्यलाई दिने कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना घरेलु हिंसा हो र नेपालको घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ले पनि उक्त कुरालाई सोहि रुपमा परिभाषित गरेको छ। महिलामाथि हुने घरेलु हिंसा अधिकांश आफ्नै श्रीमानद्वारा र बाँकि अवस्थामा घरका अरु सदस्यद्वारा पनि हुने गदर्छ। हाल समयमा कोरोना भईरसको माहामारी अत्याधिक बढेको अवस्था भएकाले सबैजना आ-आफ्नो घरभित्र सिमित रहन वाध्य छन्। यो समयमा विश्वभरी नै महिलामाथि हुने घरेलु हिंसा तीब्र रुपमा बढेको तथ्य विभिन्न संघ-संस्थाले अघि सारेको कुरा ‘the Guardian’ नामक अन्तराष्ट्रिय समाचार पत्रिकाले बताएको छ। यस विषयमा नेपाल पनि धेरै पछि छैन। नेपालको राष्ट्रिय महिला आयोगद्वारा संचालित हेल्पलाईनमा घरेलु हिंसाबाट पिडित महिलाले हरेक दस मिनेटमा सहयोगको लागि सम्पर्क गर्ने गरेको तथ्यांक छ। पीडितहरुमध्ये पनि अत्यन्त थोरै सङ्ख्यामा मात्र महिलाहरुले सहयोगको लागि निवेदन गर्ने गर्छन्। यसबाट पनि हामी पीडितहरुको सङ्ख्या कति होला भनि अनुमान गर्न सक्छौँ। घरेलु हिंसा यति प्रचलित रुपमा हाम्रो समाजमा रहेको छ कि आफ्नो छरछिमेकमा वा कम्तिमा चिनेजानेको कुनै व्यक्तिमाथि कुनै पनि रुपमा घरेलु हिंसा भएको नदेखेको, नसुनेको सायद नै हामीमध्ये कोहि छौँ होला।
सामान्यता अघि पछि हुने गरेको घरेलु हिंसाका घटना र अहिले बन्दाबन्दिको समयमा भैरहेको घटनामा त्यति अन्तर नदेखिएला तर यो विषय त्यति सहज रुपमा लिन हुने विषय भने होइन। अहिलेको अवस्थामा घरबाट बाहिर निस्कने वातावरण नभएकोले पीडित आफ्ना पीडकसँग घरमा बन्द हुन र बारम्बार हिंसाको शिकार हुन बाध्य छन्। त्यसैले यो बुझ्न जरुरी छ कि बन्दाबन्दिमा घरेलु हिंसा बढेको देखिनु पछाडिको कारण नयाँ महिला शिकार हुनु होइन कि पहिलैबाट पीडित महिला बारम्बार रुपमा शिकार हुनु हो।
कुनै पनि प्रकारको हिंसा किन हुन्छ भन्ने प्रश्न आउँदा यो कुरा स्पष्ट हुनु पर्छ कि हिंसा सरासर एक विषाक्त मानसिकताको उपज हो। घरेलु हिंसामा पनि यहि लागु हुन्छ। महिलामाथि घरेलु हिंसा गर्ने आचरण महिलालाई आफ्नो अधिकार सम्झने र आदरयोग्य नदेख्ने मानसिकताको परिणाम हो। यो कुरा पीडितले साथै समाजका अन्य व्यक्तिले पनि मनन गर्नु पर्छ कि हिंसा हुनुमा पीडितको वा कुनै निश्चित अवस्थाको कुनै दोष हुँदैन। यसमा शतप्रतिशत पीडकको दोष हुन्छ किनकि कुनै पनि अवस्था हिंसा गर्नका लागि उपयुक्त अवस्था भन्ने हुँदैन। आफुमाथि हिंसा भएको स्थिति छ भने त्यसमा आफ्नो वा निश्चित अवस्थाको दोष देखेर पीडकको सफाई स्विकार्नाले उसलाई हौसला मिल्छ र समस्या समाधान हुनुको सट्टा झन बढ्ने गर्छ। पीडकलाई आफुले गरेको काम गलत हो भनि महसुस नगराउँदा उनीहरु फेरी-फेरी त्यहि कार्य दोहोर्याउन हिच्किचाउँदैनन्। त्यसैले अनुकुल मिल्दासम्म हरेक रुपमा यसको विरोध गर्ने नै कोसिस गर्नुपर्छ। हिंसा हुँदा पिडितको एकमात्र गल्ति हिंसा स्विकार्नुमा हुन्छ।
आफुमाथि घरेलु हिंसा भएमा सँधै पहिलो विकल्प प्रहरीसंग सहयोग माग्ने हो। तर घरेलु हिंसा आफ्नो घरभित्रकै सदस्यबाट हुने हुँदा पीडितले सोझै प्रतिकार गर्न नसकिने धेरै कारणहरु हुन्छ्न्। त्यसैले पनि यसको प्रकृति अरु प्रकारका हिंसाभन्दा फरक छ। पीडकको खुलेर विरोध गर्न सक्ने वातावरण नभएको स्थितिमा आफुलाई सुरक्षित राख्नु प्राथमिकता रहन्छ।
साधारण समयमा आक्रमण भएमा घरबाट अन्य सुरक्षित स्थानमा जान सम्भव हुन्थ्यो भने अहिलेको बन्दाबन्दिको घडिमा यो सम्भव नहुन सक्छ। त्यसैले प्रथमतः आफ्नो सुरक्षाका निम्ति आफुमाथि भैरहेको र हुनसक्ने हिंसाको बारेमा आफ्नो कुनै विश्वासिलो मित्र, आफन्त वा छिमेकीलाई बताउनु पर्छ। आफुमाथि आइपर्न सक्ने कुनै आक्रमणबारे आफुबाहेक अरु पनि कोहि सतर्क रहन्छ भने आक्रमण भएको अवस्थामा आफुलाई मद्दत पाउन सहज हुन्छ।
त्यस बाहेक अर्को विकल्प, आपतकालिन अवस्था आएमा राष्ट्रिय महिला आयोगद्वारा संचालित हेल्पलाईन (११४५) मा फोन गरेर सहयोग माग्दा ठूलो आक्रमणबाट बच्न सकिन्छ। यो हेल्पलाईनद्वारा पिडितले मनोवैज्ञानिक तथा कानुनी परको सहयोग साथै आश्रय पनि पाउने तथ्य रहेको छ।
आफु बारम्बार घरेलु हिंसाको सिकार भएको छ भने आफ्नो वर्तमान अवस्था विचार गरेर समस्याको घडिमा के गर्न सकिन्छ भनेर अगाडिदेखि नै आफ्नो लागि योजना बनाउनु पर्छ र सधैँ सतर्क बस्नुपर्छ। यसो गर्नाले धेरै हदसम्म आफू बच्ने सम्भावना रहन्छ।
तर यी सबै, घरेलु हिंसा जस्तो कठोर समस्याका लागि अस्थायी समाधान मात्र हुन्। घरेलु हिंसाका घटना घरभित्र भएपनि यो समस्या एउटा घरभित्रको मात्र होइन। यसलाई सामाजिक समस्याको रुपमै हेर्नुपर्छ र घरभित्र मात्र सिमित रहन दिनु हुँदैन। यसको समाधान गर्नको लागि पहिलो कदमको रुपमा व्यक्तिले समाजमा भैरहेको घरेलु हिंसाको सामानयीकरणलाई बुझ्न जरुरी छ। आफ्नोमा नभए आफ्ना नाता-गोता, छर-छिमेकमा कुनै न कुनै प्रकारले महिलामाथि हुने थिचोमिचो सानैदेखि देखिरहँदा यो विषय हाम्रालागि सामान्य भैसकेको छ र फेरी देख्दा नयाँ लाग्दैनन्। सामान्यता जुन कुरा नौला लाग्दैनन् त्यसमा प्रतिक्रिया नजनाउनु मानव स्वभाव हो। महिलामाथि हुने घरेलु हिंसा साधारण भए पनि सामान्य विषय होईन भन्ने हामीले बुझ्यौँ भने यसको गम्भिरता छर्लङ्ग हुन्छ। त्यस कुराको ज्ञान भएपछि घरेलु हिंसा कति कठोर र अन्यायपूर्ण छ भनि स्पष्ट हुन्छ। यसको उन्मुलन गर्नको लागि आफुभित्र हिंसाको लागि असहिष्णुता विकास गर्नैपर्छ, यसलाई एउटा व्यक्ति वा एउटा घरको समस्याको रुपमा हेर्न छोड्नुपर्छ र हर तरिकाबाट यसको विरोध जनाउनु पर्छ।

विपना दहाल
वैदिक मरासिनी