मैले चिनेका हेडमाड्साव

भुवन देवकोटा
बहुप्रतिभा सम्पन्न नेत्रलाल अभागी (हेडमाड्साव)लाई मैले २०२६ सालदेखि चिन्न थालेको हुँ । लक्ष्मीपुर गाविसको डाँडागाउँबाट बसाइसराइ गरेर हाम्रो घरपरिवार ढिकपुर गाविस अन्तरगत दुन्द्रा गाउँमा पुग्यो । वरपर अरु विद्यालय थिएनन् । हालको त्रिपुरनगरपालिका नारायणपुरको श्री सिद्धरत्ननाथ हाइस्कुलमा नेत्रलाल अभागी प्रधानअध्यापक । म त्यस विद्यालयको छात्र । डेढ घण्टाको दुरीमा रहेको त्यो स्कुल सबै भन्दा नजिक थियो । त्यही स्कुलमा २०२६ सालमा कक्षा तीनमा भर्ना भएँ । उमेर अनुसार मेरो पढाइ अलि ढिलो शुरु भएको थियो । हो,त्यसकारण पनि विद्यालयका सबैजसो शिक्षकहरुलाई चिन्ने मात्र होइन, नाउँ समेत मुखाग्र हुनेगथ्र्याे । त्यही क्रममा अरु शिक्षक भन्दा केही दुब्लो पातलो शरीर । हाँस्दा अगाडिका दुईवटा दाँतको दुरी केही टाढा देखिने । शीरमा सधै ढाकाको टोपी । यसबाहेक उहाँको क्षमता,लगनशीलता र मिलनसार व्यवहारका बारेमा आफूभन्दा पाको उमेरका विद्यार्थीबाट सुन्दै जाँदा नेत्रलालप्रति श्रद्धा जाग्दै गयो । उहाँलाई देख्दा मात्र पनि गर्वको अनुभूति हुनेगथ्र्याे । बरु उहाँलाई कुन समयमा देख्न पाइएला भन्ने मेरो मन भित्र सधै जिज्ञासा भइरहेको हुन्थ्यो । मैले उहाँलाई एक असल शिक्षकको रुपमा चिन्न थालें । मेरो त्यो चिन्ने तरिका एकोहोरो मात्र थियो । त्यतिबेलासम्म हाम्रो दोहोरो संवाद भइसकेको थिएन ।
छ कक्षामा पढ्दाको समयमा भएको एउटा स्मरणीय घटना यहाँ उल्लेख गर्न चाहन्छु । सदा झै त्यस दिन पनि प्रार्थना गर्नको लागि सबै विद्यार्थी आआफ्ना कक्षा अनुसार लाइनमा उभिएका थियौं । हाम्रो लाइनको अघिल्लो पंक्तिमा सदा झैं हँसिलो अनुहार लगाएर अरु शिक्षकहरुसंगै प्रधानअध्यापक पनि उभिएका । मैले धेरैबेर उहाँलाई धेरैबेर हेरिरहें । त्यसपछि मेरो ध्यान आज कुन शिक्षक आएको छैन भन्नेतिर गयो । लहरै उभिएको शिक्षहरुलाई हेर्दै जाँदा त्यहा गणित विषयका शिक्षकको उपस्थिति थिएन । मनमनै म निकै खुशी भएँ । कारण के थियो भने मलाई गणित विषय सधै अप्ठेरो लाग्ने । गणित शिक्षक नआएको हुँदा मनमनै आज त सजिलो भयो भन्दै प्रार्थना सकिएपछि कक्षा कोठा भित्र प्रवेश ग¥यौं ।
पहिलो घण्टी अंग्रेजी विषय पढिसकेपछि आज त खेल्न पाइने भयो भन्दै कक्षा कोठा बाहिर के निस्केका थियौं लमलमक गर्दै प्रधानअध्यापक त हाम्रो कोठातर्फ पो आउन थालेका । मनले सोचे विपरीतको अवस्था सिर्जना भएर होला त्यसबखत मेरो मन निकै आत्तियो,डरायो र धरमरायो । बाहिर निस्केका जति सबैजना हत्तपत्त कोठा भित्र प्रवेश ग¥यौं । प्रधानअध्यापक कोठामा प्रवेश गर्दाको समयमा उहाँको अनुहार रिसाएको थिएन । उहाँ कुर्सीमा बसिसकेपछि हँसिलो अनुहार लगाएर अहिले कुन विषय पढ्ने घण्टी हो भनेर सोध्नु भयो । हामीले गणित विषय हो भन्यौं । त्यो समयसम्म शिक्षकहरुलाई सर भन्ने चलनको थालनी भएको थिएन । सबै शिक्षकलाई माड्साव र प्रधानअध्यापकलाई हेडमाड्साव भन्ने गथ्र्यौं । यो संझना लेख्न थालेको समयमा पनि हेडमाड्साव भनेर सम्बोधन गर्दा उचित होला भन्ने ठानेको छु । अहिले पनि नेत्रलाल अभागीलाई अर्काे परिचित संबोधन माड्साव भनेर धेरैले चिन्ने गर्छन् ।
अहिलेको घण्टी गणितको हो भने गणित विषयमा कुरा गरौं । सबैलाई मन्जुर छ ? यसो भनेर हेडमाड्सावले अरु शिक्षक भन्दा फरक तरिकाले हामीलाई हौसला दिदै सोधेको हुँदा हाम्रो मन भित्र रहेको डर क्रमशः हराउँदै जानथाल्यो । हामीले सुस्तसुस्त हेडमाड्सावका कुरालाई चासो दिएर सुन्न थाल्यौं । उहाँले प्रश्न सोध्न थाल्नु भयो । प्रश्न यस्तो थियो–कुनै एउटा रुखमा पचहत्तरवटा ढुकुर बसेका थिए । त्यही समयमा एकजना व्यक्तिले रुखमा बसेका चरालाई ताकेर गुलेलीले हानेपछि गुलेलीको मटेङ्ग्रा लागेर तीनवटा ढुकुर भुइँमा खसे । अब भन्नुहोस रुखमा कतिवटा ढुकुर बाँकी बचे ? हामीले घटाउ गर्न थाल्यौं । हामी मध्ये एकजनाले रुखमा कत्ति पनि ढुकुर बचेनन् भनेर जवाफ दिए । त्यो सुनेर हेडमाड्सावले उसलाई आफू नजिक बोलाउनु भयो । मैले मनमनै सोचे हिसाव जानेको छु भनेर खुबै चुरफुर गथ्र्याे । अब गोदाइ खाँदा ठीक ठाउँमा आउने भयो । तर त्यहाँ त सोचे भन्दा बेग्लै वातावरण सिर्जना भयो ।
ढुकुरको हिसाव दिने विद्यार्थीलाई गल्ती भन्यौ भन्नुको साटो उसलाई स्यावास पो भन्नु भयो । हामी त अक्कनबक्क प¥यौं । हेडमाड्सावले सोधेको प्रश्नको उत्तर मिलाउन नसकेका हामीलाई कत्ति पनि नहप्काएर बरु सम्झाउँदै भन्नु भयो–गुलेलीबाट छुटेको मटेङ्ग्रोको आवाज सुनेपछि घाइते नभएका ढुकुरहरु रुखमा बस्ने कुरै भएन । त्यसैले बाँकी सबै ढुकुर उडेर गए । रुखमा कत्ति पनि ढुकुर बचेनन् । यो हिसावको उत्तर यही हो । कसैले केही कुरा सुनाउँदैछ भने सबै भन्दा पहिले उसका कुरा ध्यान दिएर सुन्ने । त्यसपछि मात्र बुद्धि लगाएर जवाफ दिने गर्नुपर्छ । यो वास्तविकतालाई सबैले सधै हेक्का राख्नुपर्छ । मैले सुनाएको यो कुरा सबैलाई मन्जुर छ हैन त ? हामी सबैले एकै स्वरले भन्यौं मन्जुर छ । त्यो समयको त्यसदिनको पढाइबारेमा अहिले यत्ति मात्र संझनामा आएको छ ।
मध्यान्तरको समयमा सबै छत्रछात्राले थरिथरिका ढुङ्गाका चारी खेल्थे । त्यो खेललाई नेत्रलाल अभागीले नै हटाउनु भएको हो । विद्यार्थीहरु एकले अर्काेलाई तँ भनेर सम्बोधन गर्थे । उहाँले तँ हैन तपाइँ भन्नुपर्छ भनेर शिक्षा दिनु भएको हो । कक्षा कोठामा विद्यार्थीहरुलाई उहाँले तपाइँ भनेर सम्बोधन गर्नुहुन्थ्यो । विद्यार्थीले पढाइमा कमजोरी देखाए भने डाँटफट्कार गर्नुको साटो सम्झाएर मात्र हैन,हौसला प्रदान गरेर सिकाउने उहाँको शैली निकै आकर्षक थियो । उहाँसंग अध्ययन गरेका सबै विद्यार्थीले अहिले पनि संझना गरिरहेको हुनुपर्छ भन्ने मैले ठानेको छु ।
नेत्रलाल अभागीसंग पुगनपुग पाँच वर्ष नियमित जस्तै संगत गर्ने मौका पाएँ । यो बीचमा उहाँसंगका अविस्मरणीय घटना प्रसंग धेरै छन् । ती मध्ये केही लेखिसकेको छु । केही लेख्दै छु र केहीलाई लेख्नको लागि पालो पर्खाएको छु । यतिबेला अर्काे एउटा प्रसंग उल्लेख गरेर यो लेखको बिट मार्न चाहन्छु । २०३८ साल जेठ २१ गते मेरो बिहे भएको हो । नेत्रलाल अभागीका भान्जा तपाइँका सहपाठी बेलहरी निबासी केशव शर्माकी बहिनी राधासंग तपाइँको बिहेको प्रस्ताव लिएर आएका छौं । भूमिगत साथीहरुले हाम्रो घरपरिवारसंग राखेको यो प्रस्ताव सहर्ष स्वीकार भएपछि केशव शर्मा र म दुबैजना बसेर बिहे कुन ढंगले गर्ने र जन्ती कतिजना आउने लगायत विषयको कुरो टुङ्गाएका थियौं ।
भूमिगत समयमा नेत्रलाल अभागी धेरैजसो बेलहरीमा बस्ने गर्नुहुन्थ्यो । सुरक्षाको दृष्टिकोणले त्यो गाउँ उपयुक्त मानिन्थ्यो । त्यो ठाउँमा धेरै पटक धेरै ठूला बैठक समेत आयोजना गरिएका थिए । हो,त्यही बेलहरी गाउँमा आफ्नी दिदीको घरमा आएको बखत भान्जा केशव मार्फत मलाई बोलाउन पठाउनु भयो । त्यो असारको महिना थियो । बिहानको खाना खाइवरी म बेलहरी पुगें । घरपरिवारको हालखबर सोधपुछ गर्नु भयो । गाउँछिमेकबारे पनि जानकारी लिनु भयो । केही समयको अनौपचारिक कुराकानीपछि पार्टी कामका कुरा भए । संगठन निर्माण सम्बन्धमा कुरा भए । पार्टी कामको जिम्मेवारी बाँडफाँडका कुरा भए । पार्टीको नीति निर्देशनको कुरा भए । समसामयिक राजनीतिका कुराहरु भए । अन्तमा उहाँले कविता सुनाउनु भयो । हाम्रो भेटमा यो नियमित प्रक्रिया जस्तै भएको थियो । यो बीचमा दिउँसोको नास्ता खायौं । मैले त्यो समयमा कविता लगेको थिइन । उहाँले समकालीन साहित्यिक गतिविधिका बारेमा चर्चा गर्नु भयो । त्यो समयमा भूमिगत हुनभएका रोमहर्ष धिताल,केशव शर्मा र मैले ध्यानपूवृक सुनिरहेका थियौं । साँझ पर्न थाल्यो । ल आजलाई पार्टी कामको समय सिद्धियो । माड्सावको त्यो भनाइमा अब काम सकियो । घर जान सक्नुहुन्छ भन्ने आशय मिसिएको मैले अनुभव गरें ।
बिहे भएको एक महिना पुग्दै थियो । मेरो ध्यान घरतिर तानिदै थियो । यत्तिकैमा रोमहर्ष धितालले भन्नु भयो धेरै समयपछि भेट भएको छ । आज यतै बसौं । धीतमरुन्जेल भलाकुसारी गरौंला । धितालको यो भनाइले म अक्कनबक्क परें । के भनौं र कसो गरौं भन्ने भयो । त्यहाँ मेरो मन भित्र उकुसमुकुसको वातावरण सिर्जना भयो । पार्टीको काम सकियो । अब किन बस्नु पर्छ भनेको होला । काम सकेर कतिबेला घर पुगुँला भन्ने सोचिरहेको मेरो मन अत्तिनथाल्यो । त्यही समयमा माड्सावले ओ धितालजी,के भनेको तपाइँले ?आफ्नो दिन उमेर संझनुहोस त । पार्टीको काम सकियो । अब अरु कुरा पछि गर्दैरहनु होला । उहाँलाई घर जानबाट रोक्नुको कुनै कारण छैन । हाम्रो पनि के ठेगान ! अहिले भर्खरै यहाँबाट हिंड्नु पर्ने पनि हुनसक्छ । समय परिस्थितिलाई ख्याल गर्नु पर्छ । लौ अहिले घर जानु होस । खबर पाउँदा उपस्थित हुनुहोला । माड्सावको यो भनाइ सुनेर म त खुशीले तीन हात उफ्रिउँ कि जस्तो लाग्यो । हतारिदै सबैसंग बिदा भएर घर जान हिडें । बेलहरीबाट दुन्द्रा आउन अरु समयमा पौने घण्टा लाग्थ्यो भने त्यसदिन आधाघण्टा पनि नलगाएर म घर आइपुगें ।
आदरणीय पाठक वर्ग ! यो संस्मरण लेखिरहँदा माड्सावले भनेका ती कुरा हिजो मात्र भनेको जस्तो लाग्छ । तर वर्षको हिसाव गरिल्याउँदा पौतिस वर्ष पुगिसकेछ । वर्तमान समयमा नेतृत्वमा पुगेकाहरुमध्ये कति जनाले कार्यकर्ताको मनोभाव बुझेका होलान् ? मनमनै गर्दै आएको यो प्रश्न आजको दिनमा पाठकहरु समक्ष राख्न चाहन्छु ।