प्रतिभाका धनी सञ्जीवजी

उदय आले
अनायासै चिया गफमा उठेको एक प्रसंगले मलाई तानिरह्यो … । मध्यरातसम्म लेखनमा नै व्यस्त रहेँ । बिहान उठ्दा अनेक प्रसंग मनमा खेल्न थाल्यो । जिन्दगीमा कति लेखियो, कति च्यातियो, कति फालियो, कति आफैलाई मन परेन । मैले लेख्न खोजेको मूल प्रसंगमा केन्द्रित हुने हो भने यो आलेख निकै लामो हुन सक्छ । तसर्थ मैले यस लेखनका लागि छुट्टाइएको समयावधि भित्रै केही कुरा उल्लेख गर्न चाहन्छु ।
मान्छेको सिर्जनशीलता, रचनात्मक कार्य, कार्यगत समर्पण र उसमा अन्तर्निहीत ज्ञानको भण्डारले मलाई आकर्षित गर्ने गर्छ । यही सेरोफेरोमा निर्मित व्यक्तित्वको चमक केही फरक हुन्छ जस्तो लाग्छ मलाई । त्यही चमकमा त्यस मान्छेको प्रतिभा झल्किएको हुन्छ । सबै मान्छेमा कुनै न कुनै किसिमको प्रतिभा हुन्छ । केहीका प्रतिभा सार्वजनिक हुन्छ र इतिहास निर्माण गर्दै जान्छ । कैयौँका प्रतिभा गुमनाम हुन्छ र उसैसँग बिलाएर जान्छ ।
संसारका असल मान्छेहरुसँग संगत गर्न एक जीवनकालमा पूरा नहुन सक्छ, संसारका राम्रा पुस्तकहरु पढिसक्न समय नपुग्न सक्छ र संसारका सुन्दर ठाउँहरुमा पुग्न एक जीवनकाल अपूग हुन सक्छ । मान्छेले आफ्नो जीवनकालमा गरेका सबै कामहरु महत्वपूर्ण हुन्छन् भन्न सकिदैन । सबै मान्छेले आफू सक्दो मेहनत गरेकै हुन्छन् । हिंजोका दिनमा एउटै प्रतिभाशाली मान्छे विद्वान, दार्शनिक, ज्ञानी, वैज्ञानिक, समाजको अगुवा र प्रवक्ता कहलाउन सक्थ्यो तर आज समय फेरिएको छ र विधागत विद्वान र विज्ञ उत्पादन भैरहेका छन् ।
म विगत सम्झदैछु । केही वर्ष बितिसकेको छ । काठमान्डुमा अध्ययनपश्चात म देउखुरी फर्किएको थिएँ । मैले जे विषय पढेको थिएँ त्यही विषय पढाउन मन लागेन । राम्रो काम गर्न जति नै चिन्तित भए पनि मैले खोजे जस्तो माहोल पनि थिएन । नयाँ विषय वस्तुको अन्वेषण सहजै हुने कुरो पनि होइन । विस्तारै थारू जातिको अध्ययनमा केन्द्रित हुन थालेँ । कपिलवस्तुदेखि पश्चिम तराईका जिल्लाहरुमा भौतारिरहेको थिएँ । त्यसै बेला कुनै एक दिन मैले सौरभलाई फोन सम्पर्क गरेँ । त्यति बेला नै हो सौरभले मलाई सञ्जीवजीको सम्पर्क नं. उपलब्ध गराएको । सौरभ अहिले आफ्नै काममा स्थापित भइसकेको छ । मैले केही दिनमै सञ्जीवजीलाई सम्पर्क गरेको थिएँ ।
स्थलगत अध्ययन सँगसँगै थारू जातिसम्बन्धी पुस्तक लेखन गरिरहेको थिएँ । त्यही बेला नै हो सञ्जीवजीले केही प्रश्नहरु पठाउनु भएको थियो । मैले पुस्तकसम्बन्धी आफ्ना धारणा र विचार लेखी पठाएको थिएँ जुन ‘भ्वोइसिज अभ थारूज’मा अनलाइन भएको छ । झण्डै दुई वर्षसम्म हाम्रो फोन सम्पर्क र तारे चिठीमा मात्र कुराकानी र विचार आदानप्रदान भयो । त्यही बीचमा सञ्जीवजीले ब्याङ्गलोरका शुभाशिष पनिग्रहले वृत्तचित्र बनाउन लागेको र सहयोगका लागि अनुरोध गर्नुभयो । मैले आफूले सक्दो सहयोग गर्ने वचन दिएँ ।
सम्भवतः वैशाखको महिना हुनुपर्छ । शुभाशिष काठमान्डु आउने र काठमान्डुदेखि शुभाशिष र सञ्जीवजी लमही पुग्ने कार्यक्रम तय भयो । उल्लिखित तालिकाअनुसार नै हाम्रो पहिलो पटक लमहीमा भेट भयो । त्यस दिन केही जिल्लाहरु बन्दको कार्यक्रम भएकाले हामीहरु हिंड्दै कुलमोहर पुग्यौं । वृत्तचित्रका लागि आवश्यक लोपोन्मुख कुसुन्डा जातिको छायाङ्कन ग¥यौं । पहिलो दिन छायाङ्कनमै बित्यो । दोस्रो दिनको आधा समय छायाङ्कन र आधा समय कुसुन्डा भाषाको अनुवादमा बित्यो । तत्पश्चात म काठमान्डु आउँदा समय मिल्ना साथ भेट भैरहेका छौं ।
सन् २०१७ मा मेरो पुस्तक ‘कुसुन्डा जाति र शब्दकोश’ सार्वजनिक भयो । सञ्जीवजीले ‘ग्लोबल भ्वोइसिज’मा समाचार लेख्नु भयो । जुन अन्य दश भाषामा अनुवाद भइ अनलाइन भएको छ । यस समाचारले विभिन्न देशमा जानकारी दिनुका साथै पुस्तक बिक्रीमा समेत टेवा पुग्यो । अहिले सम्झदा खुसी लागिरहेको छ । जुन पुस्तकको सन्दर्भमा सञ्जीवजीले अन्तर्वार्ता गर्नु भएको थियो त्यही पुस्तक प्रकाशनको तयारीमा छ । पुस्तकको नामको सन्दर्भमा पनि सञ्जीवजीसँग छलफल भएको थियो । Tharu: A Revelation, Saga of Struggle and Survival अङ्ग्रेजी भाषामा लेखिएको छ । यो पुस्तक कपिलवस्तुदेखि पश्चिम तराई भूभागमा बस्ने थारू जातिमा केन्द्रित रहेको छ ।
मैले यहाँ सञ्जीवजीको तारिफ गर्न खोजेको होइन । सञ्जीव चौधरी एक प्रतिभाशाली व्यक्तित्व हो । इन्जीनिअरिङ पृष्ठभूमिबाट अनुसन्धान र लेखनमा सक्रिय सञ्जीवजी मूलतः अङ्ग्रेजी भाषामा लेख्ने गर्नुहुन्छ । अङ्ग्रेजी भाषामा राम्रो पकड भएका सञ्जीवजी थारू, नेपालीलगायत अन्य केही भाषामा दक्ष हुनुहुन्छ । पूर्वी तराईमा बसोबास गर्ने थारू जातिको पनि गहन अनुसन्धान गरिरहनु भएको छ । देश विदेश घुमिरहने सञ्जीवजीको अनुसन्धान र लेखन यात्राले शिखर चुम्न सकोस् । आधा दशक पार गरिसकेको हाम्रो चिनारीमा सञ्जीवजीले मलाई सदैव सहयोग गरिरहनु भएको छ । आफ्नै आदर्शमा हिंडिरहने सञ्जीवजी एक सरल, सहज र मृदुभाषी व्यक्तित्व हो । सधैँ अरुलाई सहयोग गरिरहने र आफू पर्दा पछाडि बस्न मन पराउने सञ्जीवजी एक अनुकरणीय प्रतिभा हो ।