अमिलिया ‘सिमानामा साहित्य’ ः संक्षिप्त काव्य भाव


–छविलाल कोपिला
केही वर्ष यता अन्तरजिल्ला स्तरीय साहित्यिक गतिविधिहरू बढ्न थालेका छन् । बिशेष गरेर दाङ र बाँकेका साहित्यकारहरू बीचको कार्यक्रम निकै प्रभावकारी हुने गरेको छ । यस्तो कार्यक्रमले एकार्का बीचको परिचय, आत्मीयता र सामिप्यतालाई बढाइरहेको छ । र यो सम्बन्ध पछिल्लो समय कपिलवस्तुसँग पनि जोडिदै गएको छ । भर्खर मात्रै दाङ र बाँकेका सीमानामा दाङको अमिलियामा ‘सिमानामा साहित्य’ नामक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमिलिया बाँकेको नेपालगञ्जदेखि ९० किलो मिटर र कपिलवस्तुको चन्द्रौटादेखि पनि ठीक ९० किलो मिटरको दुरीमा रहेको छ । यसकारण दुबै जिल्लाको केन्द्र बिन्दुकै रूपमा यो ठाउँ उपयुक्त भएको हो । अमिलियामा यस अघि पनि बृहत साहित्यिक कार्यक्रम भएको थियो । यस वर्षको कार्यक्रमको आयोजना गजल अभियान दाङले गरेको थियो ।
मानौ कि कुनै गह्रुगो वस्तु पानीमा तैरिन सक्दैन
लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन
कसैले मलाई यस्तो नाजुक अवस्थामा छोडेर गयो
मानौ कि एउटा घडीले समय पनि सम्झिन सक्दैन

यो गजलीय शेरहरू अछामका गजलकार प्रकाश संगम बिलभका हुन् । भर्खर यही साउन २५ गते दाङको अमिलियामा आयोजित ‘सिमानामा साहित्य’ कार्यक्रममा यो पहिलो प्रस्तुत गजल थियो । उहाँले आफ्नो गजल मार्फत वर्तमान अवस्थाको चित्रण गर्दै देशले ठूलो आर्थिक भार र बुख्याँचा जस्ता नेतृत्वका कारण देश बर्वाद भएमा समयले पनि माफ नदिने भाव व्यक्त गर्नु भयो । यसैगरि दाङका अर्का गजलकार कपिल मणि लामिछानेले पनि विलभकै भावमा सहमति जनाउँदै देशले गणतन्त्र त पायो तर वास्तविक गणतन्त्र अनुभूति गर्न नपाएको चिन्ता व्यक्त गर्नु भयो र अहिले देशमा मानवता र संवेदनशीलता हराइरहेको बेला आफ्नो अनुभूति यसरी पोख्नु भयो ः
मेरो देश लाग्छ अचेल कता कता हराउँदैछ
लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रता हराउँदैछ
आफ्नै सन्तान निमोठेर झाडीमा फालिदिने
अचेलका यी आमाहरूमा ममता हराउँदैछ

दाङकै अर्का उदीयमान गजलकार अभि क्षेत्री समर्पणले देशमा नेतृत्वभन्दा आसेपासे अझ बढी खतरनाक रहेकोले चम्चाहरूसँग पनि होसियार रहन उर्दी गर्नुभयो ः
एउटा ठोस चुनौती उभ्याएर नासाको अगाडि ।
माया जोखेर देखाइदिन्छु म काँटाको अगाडि ।
जुन भाँडोसंग नजिकिन्छ उसैलाई रित्याउँछ,
होसियार रहनुहोस् महासय चम्चाको अगाडि ।

गुरूप्रसाद कुमाल बुलबुल नयाँ पुस्तामा एक सक्रिया कवि एवम् गजलकार पनि हो । उहाँ देशमा भ्रष्टाचार, बलात्कार र हत्या बढिरहेको अवस्थामा सरकारमा रहेका नेतृत्वकर्ताहरूले ठूलै आश्वासन बाँडे पनि शुन्य परिणाम भोगिरहेका जनताहरूका तीता र यथार्थ प्रश्न उभ्याइदिनु भयो गजलकार ‘बुलबुल’ ः
आमाको पेटमै के के सिकेर आउनुभयो यत्ति भन्नुहोस् ।
यो धर्ती टेकेपछि रुनु भो कि गाउनुभयो यत्ति भन्नुहोस् ।
हजुर हुलाकी मात्र हैन, साहुको चम्चे पनि हुनुहुन्छ
चम्चागिरी गर्दा तलब कति पाउनुभयो यत्ति भन्नुहोस् ।

कोहलपुरका गजलकार बिक्रम शिशिरले आफ्नो गजलीय शेर मार्फत वस्तु तुलना गर्नु भयो । बाह्य सौन्दर्यभन्दा आन्तरिक सुन्दरता कैयो सुन्दर हुन्छ । जसको मूल्याङ्कन वस्तुको आचरण र स्वभावको आधारमा हुनुपर्छ भनेर जिकिर राख्नु भयो ः
जुन आँखामा गाजलको धार हुन्छ,
त्यही नै सबै भन्दा होसियार हुन्छ
हरेक चिजमा खोट देख्छन् मान्छे,
जबकि स्वाभाव वस्तु अनुसार हुन्छ

दाङ–देउखुरीमा चर्चित र सशक्त नवोदित गजलकार हिमा भुसाल ‘प्रकृति’ प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै राष्ट्रका नाममा उखान सुनाएर देश चल्दैन । स्वाभिमानी हुन आफूले पान बेचेर भएपनि भविष्य लेख्ने हैसियतमा उभिन सकेमा गर्व पनि गर्नु भयो ः
कहिलेसम्म चल्ने हो उखान बेचेर
अनि यो राष्ट्रको स्वाभिमान बेचेर
बगरमा बालुवा चाल्नु हुन्थ्यो आमा
मैले पढेको हुँ पसलमा पान बेचेर

यसैगरि गजलकार ऋतु गिरिले दिनहुँ नेपाली आमाका सपूतहरू ठूलो सपना बोकेर परदेश जान्छन् तर फर्किदा बाकसमा फर्किनु परेको दिनहुँ रेडियाे समाचारहरूले सुनाउँछन् । देशभित्र रोजगारी नभएकै कारण जस्तो सुकै परिस्थितिको सामना गर्न विदेश पलायन हुनु परेको तीतो यसरी पोख्नु भयो ः
तिमीले देश छोड्यौ र बिरानो शहर लाग्यो
गरिबको झुपडीमा खै कसको नजर लाग्यो
मुग्लान हिडेका बाबा बाकसमा फर्किएपछि
आमालाई ब्युझनै नसक्ने गरी चक्कर लाग्यो

यसरी अर्की गजलकार गोमा खड्काले घरबार स्याहार्ने धुरीखाँबो नै परदेश भएपछि आफ्नै माटो बिरानो लागेको र निकै कष्टकर रहेको भाव आफ्नो गजलका शेरहरूमा यसरी व्यक्त गर्नु हुन्छ ः
साउदी, दुबई, कतार मलाएका कुरा
यो मुटुमा कतै माया पलाएका कुरा
खै ! कसो गरी सुनाउँ म हजुरलाई
अप्ठ्यारोमा घरबार चलाएका कुरा

यसैक्रममा बर्दिका गजलकार महेन्द्र रोका अदृश्यले आफूले उपेक्षा गरेको वस्तु पनि काम लाग्न सक्छ, र लेनदेनमा कहिलेकाहीँ व्यवहार बिग्रिन सक्छ यसकारण सम्बन्धलाई कायम राख्न व्यवहार राम्रो हुनु पर्नेमा जोड दिनु भयो ।
फालेको सिन्काको जरुरत हुन्छ आखिरमा
बालकका विचारमा तागत हुन्छ आखिरमा

दाङका कवि दीपक समीर समयबोध हुन नसक्दा आफू लुटिएकोमा गजलीय भाव मार्फत यसरी पोख्नु भयो ।
लुट्यो निस्ठुरी समयले लुट्यो जवानी म के भनूँ
हिड्दा हिड्दै दोबाटोमा अक्सर कहानी म के भनूँ

गजल वाचनकै क्रममा कवि लब्लिन क्यानभासले आफ्नै मातृभाषा थारूमै गजल सुनाउनु भयो ः
टु ओ मैं हुइटी न गट्ठी–गट्ठी
र ट एक आपसम मैयाँ सट्ठी
न पह्र सेक्लि न जागिर खाए
उह ओर्से ट आज घोरी लट्ठी

कार्यक्रममा गजल र मुक्तक मात्रै वाचन भएनन् । त्यहाँ कविता र गीत पनि सुनिए । त्यही मञ्चमा उभिएर दाङकी एक सशक्त नारी हस्ताक्षर दीपा धिताल आफू पोखिइन् कवितामा ।
आकाशमा जून देख्ने बाहानामा
खुसीहरू भेट्ने चाहानामा ।
यो परदेशमा न जून देखिए
न त खुशी भेटिए
पर्खाइमा कयौं प्रहर बितिगए
उनीहरू कहिल्यै फर्केर आएनन्
तर पनि गाइरहेकाछौँ उनीहरूकै खुशीको गीत ।

र, त्यसरी नै पोखिए कवि खगेश्वर भण्डारी पनि । उज्यालोको खोजीमा हिडेका भण्डारी, आजीवन अँध्यारोकै भासमा हराइरहेको बेला कठोर रात चिर्दै एकाएक जून उदाएपछि सन्तोषको सास फेर्नु हुन्छ र उसैको इसारामा हिड्ने संकल्प गर्नु हुन्छ ।
ए कठोर रात चिर्ने जुन !
मलाई तेरो छहारीमा
आफ्नै आँखाको बाटो चिन्ने मन छ
मलाई तेरो उपस्थितिमा
आफ्नै खुट्टाले हिड्ने मन छ ।

कवि छविलाल कोपिला ‘भट्टी पसल’ शीर्षक मार्फत विगतका सरकार झैं वर्तमान सरकार पनि निरंकुश बन्दै गएको र अहिले सरकारले विभिन्न नाममा निर्दाेष, निहत्था नागरिक तथा कवि साहित्यकारहरूलाई लेखेकै भरमा देशद्रोही देख्ने अनि धड्पकड, गिरफ्तार, दमन र हत्या लगायतका क्रियाकलापमा सक्रिय देखिएकोले यस्तो सन्त्रासको कालो बादलमुनि निसास्सिएर बाँच्न विवश जनताको मनका इच्छा र आकांशलाई यसरी पोख्नु भएको थियो ।
त्यही टेबुल हो
जसको वरिपरि बसेर ग्राहकहरू
पिउँछन् तिनै ब्राण्डेड रक्सीहरू
र, जब देख्छन् तिनका उन्मत्त नजरहरू
अक्षरहरूको जुलुस
वाक्यांशहरूको सागर
अनि, ठान्दछन्
सबैभन्दा ठूलो देशद्रोही यही हो
र, गिरफ्तार गर्छन्
बिचरा ! केही थान आत्माले बोल्छन्
निसर्त रिहा गर !

यता साहित्यकार नीमबहहादुर थापा सिमानाका पीडा बोकेर उभिनु भयो र जंगे पिलरसँग अनेकौं प्रश्न सोध्न थाल्नु भयो ः
मलाई प्रश्न गर्न मन छ
ए ! जंगे पिलर
मेरो गाउँलाई कहिलेसम्म देख्छौ बिरानो बस्ती ?
मेरो गाउँमा कहिलेसम्म छर्छौ उज्यालो बत्ति ?
मेरो गाउँमा कहिलेसम्म पु¥याउँछौ पानीको धारा ?
अनि कहिलेसम्म आउँछन् तिम्रा अंरक्षकहरू ?

यसैक्रममा पाका कवि सूर्यराज गौतम बढ्दो जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण आउन सक्ने भयांकर दुर्घटनाले मानव जनजीवन नै ध्वस्त बनाउन सक्ने ठूलो खतरा देख्नु हुन्छ र काव्य भावमा यसरी अभिव्यक्त गर्नु हुन्छ ः
प्राण धान्ने खेतबारीमा
बालुवा र कंक्रिट छ
बाँझिएको खेत र बगरमा सिमेन्ट र क्रसर उद्योग छ
तर पनि
कृषि उद्योग खोल्ने झुट्टा र खोक्रा नाराहरू
हरियाली पाखाहरू
बन डढेलोले सखाप हुँदैछ
होसियार, त्यो दिन आउँदैछ
शीतलता, पवित्रता, मानवीयता
एकादेशको कथा बन्ने छ ।

यता सँधै गीतमा उपस्थिति जनाउने दाङका चर्चित गीतकार प्रकाश के.सी. यसपाली भने कवि भएर उभिनु भयो । बढ्दो वातावरण प्रदुषण जस्तै मानवीय प्रदुषण स्वच्छ हुन नसकेर युद्ध जंमिएको छोटकरीमा गतिलो व्यङ्ग्य प्रहार गर्नु भएको थियो ।
बिहानको समय
शहरको चौडा सडक
सडकको छेउमा एउटा टिनको डिब्बा
डिब्बा माथि दुई सडक मान्छेको दृष्टि ।

कार्यक्रममा चर्चित संगीतकार एवम् गायक यादवनाथ योगी आफूले भर्खरै बजारमा ल्याउनै लागेको तीज गीत गाउँदा त्यहाँको माहोलै फेरियो । भावुक मुद्रामा कविता, मुक्तक, गजल सुनिरहेका श्रोता सहभागीहरूले एकाएक थपडी पड्काए र नाचूँ, नाचू भावमा देखिए ।
वर वर सर माया, वर वर सर,
यो मनले जस्तै,
त्यो मनले बुझे बल्ल हुन्थ्यो घर माया ।

अर्का चर्चित संगीतकार एवम् गायक सन्तोष रजौरेले भने सम भागमा पु¥याइदिनु भयो । मीठो स्वरका धनी रजौरे जब गीतकार प्रकाश के.सी.को गीतमा स्वर भर्नु भयो । उपस्थित सबैको मन मन्त्रमुग्ध भएको थियो ः
थियो कुनै जवाना, काडाँ थिएन गुलाफमा
झर्किदा तर्किदा मुस्कान मिल्थ्यो जवाफमा

यसैगरि अर्का युवा गायक ज्ञानेन्द्र स्वर्णकार आफ्नो प्रस्तुतिबाट निकै हौस्याए ।
दुनियाँको कुरा सुन्यौ, नयाँ नयाँ जाल बुन्यौ
चोखो माया झुठो ठान्यौ,बैरीलाई नि आफ्नो मान्यौ

साथमा नव गायक हिमाल रिजालको गायकी पनि दमदार रह्यो ।
कार्यक्रममा कपिलवस्तुका अर्जुन शर, कोहलपुरका बिक्रम शिशिर, सल्यानका प्रेम योगी, बर्दियाका कृष्ण समर्पण, दाङका केडी शर्मा, रमा नेपाली, मनोज थापा मगर, युवराज पाण्डे लगायत तीन दर्जन बढी स्रष्टाहरूका उत्कृष्ट रचनाहरू वाचन भए । अभियानका अध्यक्ष प्रवल विष्टको अध्यक्षता र प्रकाश के.सी.को संचालनबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ गजलकार खगेन्द्र गिरि कोपिला रहनु भएको थियो । प्रमुख अतिथि कोपिलाले कार्यक्रमको समीक्षात्मक मन्तव्य दिँदै केही समय अगाडि दाङको गजल र मुक्तक क्षेत्रमा केही कमजोरी देखिएपनि अहिले राम्रा र स्तरीय लेखनमा अगाडि रहेको बताउनु भयो । उहाँले देश, समाज र समयबोध लेखनका मुख्य आधार भएकोले यसका लागि स्रष्टाहरूमा साधना र चिन्तन अवश्यक रहेको औल्याउनु भयो र जाँदाजादै आफ्नो गजलीय भाव यसरी व्यक्त गर्नु भयो ः
मानिसलाई धनको लोभ र शक्तिको अहंकारले बरबाद ग‍¥यो
देशलाई अनेक थरी वाद र दर्शनको बिस्तारले बरबाद ग‍¥यो

समग्रमा अमिलियाको सिमानामा साहित्य कार्यक्रम निकै रोचक, उत्साहप्रद र प्रभावकारी रह्यो । मावि अमिलियाका प्रधानाध्यापक गोपाल न्यौपाने भव्य स्वागत–सत्कारका साथ बिहानको खानाको व्यवस्था गर्नु भयो । उहाँ सम्पूर्ण साहित्यकारहरूप्रति देखाउनु भएको स्नेह, सद्भाव र सहयोगप्रति आयोजक निकै आभारी छ । कार्यक्रमको अन्य व्यवस्थापनका लागि साहित्यकार नीमबहादुर थापा निकै खट्नु भएको थियो । प्रचार प्रसारमा अभि क्षेत्री समर्पण, गुरूप्रसाद कुमाल बुलबुलको सक्रियता उल्लेखनीय रह्यो अन्य साथीहरूको साथ पनि रह्यो । प्रस्तुत प्रायः रचनाहरू उत्कृष्ट र बेजोड थिए । भावमा सघनता, शैलीगत मनोहारिता र अनुभूतिको तीक्ष्णताले श्रोताहरूको मन मोहित पारेको थियो । देशमा भइरहेको बेथिति, खाडीमा रगत बगाइरहेका सपुत, राज्य आतंकमा पिल्सिएका जनताका पीडादायी अनुभूतिहरू, सीमा भोगेका पीडाहरूलाई आफ्ना रचना मार्फत अभिव्यक्त गर्न र जन सन्देश प्रवाह गर्न ‘सिमानामा साहित्य’ कार्यक्रम ऐतिहासिक बन्यो । कार्यक्रमले सबैमा उर्जा थपेको छ र आगामी कार्यक्रमको संकल्प पनि गरिएको छ । कार्यक्रमलाई जसले कसरी सहयोग गरे सबै धन्यवादका पात्र हुनुहुन्छ । आगामी कार्यक्रम अझ सुन्दर बनोस् शुभकामना ।