जेल संघर्षको प्रिन्सिपललाई चिठी

जेल संघर्ष

सर नमस्कार !

एस. एल. सी उत्तीर्णपछि आफुले पढेको विद्यालय र पढाउने शिक्षक शिक्षिका अनि विद्यार्थी भाइबहिनीहरुसंग भेट नभएकोले आज पत्र मार्फत भएपनि भेटघाट गरौं भन्ने लागेर आज हजुरलाई पत्र लेख्दैछु ।

एस. एल. सी. उत्तीर्णपूर्व हजुरहरुको माया अनि राम्रो शैक्षिक वातावरणले गर्दा जीवनमा देशको लागि केहि त गर्नै पर्छ भन्ने मनमा जागेको छ । त्यहाँको उचित शैक्षिक वातावरणले गर्दा म र मेरा थुप्रै साथीहरु आ–आफ्नै शैक्षिक क्षेत्रमा त्यस विद्यालयको नाम र इज्जत बढाउदै छौं । हुन त एक दुई जना साथीहरुसंग बाहेक अन्य साथीहरुसंग त खासै भेट भएको छैन तैपनि आजभोलि सञ्चारको सुविधाले गर्दा मोबाइल मार्फत भएपनि एक अर्काको अवस्थाबारे आदान–प्रदान भइरहेको छ । उक्त मोबाइल कुराकानीमा त्यस विद्यालय र विद्यालयका सम्पुर्ण शिक्षक, शिक्षिका अनि विद्यार्थीहरुको जानकारी समेत आदान प्रदान गर्ने गर्छौं ।

सर, म त्यस विद्यालयमा सानै कक्षादेखि नै पढ्दै आएँ र सानै उमेरदेखि शैक्षिक जीवनमा उचित वातावरण पाएँ जसले गर्दा अहिले म विज्ञान संकायबाट स्नातकोत्तर तहमा नाम निकाल्न सक्षम भएकी छु । सायद सानै उमेरदेखि नै उचित वातावरण नपाएको भए त्यति चाँडै यो तहमा पुग्ने मेरो कुनै हैसियत र क्षमता हुने थिएन । त्यसैले म त्यस विद्यालय प्रति मेरो गर्व छ र भन्ने गर्छु मेरो शैक्षिक स्तम्भ त त्यही विद्यालय हो ।

त्यस विद्यालयबाट त थुप्रै अग्रज दाइ, दिदि तथा म पछिका साथीहरुले पनि एस.एल.सी. उत्तीर्ण गरिसक्नु भयो र उहाँहरु पनि आ–आफ्नो क्षेत्रमा उहाँहरुले पाउनुभएको जिम्मेवारी पनि बहन गर्दै हुनुहुन्छ होला भने कतिले अध्ययनलाई निरन्तरता दिँदै हुनुहुन्छ होला । अनि उहाँहरुले आफुले पढेको विद्यालयमा शिक्षक–शिक्षिकाहरु प्रति आ–आफ्नो धारणा र अनुभूति होला । समय आएपछि आफ्नो कुरा अभिव्यक्त गर्नुहोला । केहि कुरा सिकेपछि आफुले जानेका र बुझेका कुराहरुबाट आफ्नो अनुभव एक अर्कालाई बाँड्नुपनि दुबैको लागि निकै महत्वपूर्ण हुन्छ भन्ने लाग्छ मलाई ।

सर, मलाई जीवनको यो तहसम्म आइपुग्नको लागि त्यस विद्यालयमा रहि विद्यालयमा पढ्न आउने विद्यार्थीहरुको समेत साझा अभिभावक बन्नुभयो र समान माया, एउटै व्यवहार र अभिभावकत्व प्रदान गर्नु भयो । विद्यार्थीलाई कुन हतियार बनाउने अर्थात कुन विद्यार्थी कस्तो हतियार बन्न सक्छ भन्ने कुराको ख्याल गरि सोहि बमोजिमको शैक्षिक क्रियाकलाप आफै पनि गर्नु भयो र अन्य शिक्षक शिक्षिकाहरुलाई पनि गराउनुभयो । अर्थात हजुर एक प्रशासक मात्र होइन कुशल ड्राइभर अनि अभिभावक पनि बन्नु भयो र यसको निरन्तरताको कामना गर्दछु ।

विद्यालय हरेक विद्यार्थी तथा शिक्षकहरुको दोस्रो तर महत्वपुर्ण घर हो । घरमा घरका परिवार सदस्यले गर्नुपर्ने आ–आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ र अनिवार्य सम्झी पूरा गर्नुपर्छ । घरमा कसैले कसैलाई नराम्रो दृष्टिले हेरिनु हुँदैन । घरमा बाबा या आमामध्ये एक घरमुली र अरु परिवार सदस्य भए जस्तै विद्यालयमा प्रिन्सिपल त्यो विद्यालयको घरमुली हो भने शिक्षक शिक्षिका लगायत सबै विद्यार्थीहरु त्यो विद्यालयको परिवार सदस्य हो । घरमुलीले घरको हरेक परिवार सदस्यको चरित्र, व्यवहार र उसको कर्तव्यबारे निगरानी गरेको हुनुपर्छ र सोहि बमोजिम परिवारका सदस्यहरुलाई घरमा परिचालन गर्न सक्नुपर्छ । यदि त्यो घरमा असल र जिम्मेवार घरमुली भयो भने त्यो घरको सबै सदस्यहरु आफ्नो काम कर्तव्य प्रति सँधै शंवेदनशील हुन्छन । तर घरमुलीले सबै कुरामा ध्यान पुर्याएको वा पुर्याउन खोज्दा खोज्दै पनि घरमा कुनै कुनै सदस्यले छलकपट गरिरहेको हुन्छ । अर्थात छलकपट गर्ने उपयुक्त समय पर्खिरहेको हुन्छ । यसबारे घरमुली चलाख बन्न सकेन भने परिवारमा एक जनाले गर्दा त्यो घरको वातावरण निकै खराब बन्न जान्छ । यसबारे सरलाई भनिरहन पर्दैन किनभने सर यसबारे निकै भुक्तभोगी र अनुभवी हुनुहुन्छ ।

तर पनि सर हरेक मान्छेले भुतबाट वर्तमान अनि वर्तमानबाट भविष्यको निर्धारण गर्नु पर्ने हरेक पलको आवश्यकता हो । हरेक मान्छेलाई बितेको समयले वर्तमानमा पछुतो अनि पीडा र आत्मग्लानी महसुस गर्दछ । जानेर होस वा नजानेर मान्छेले जीवनमा गल्ती गर्दैन भने पनि त्यो समयको भाग हो वा खेल मान्छे एक पटक गम्भीर खाल्टोमा पर्दछ । अर्थात जान्ने बुझ्ने र असल बाटोको कुरा गर्नेले उसको कुरा सुनिरहेकोलाई जानीजानी जीवनको यात्रामा निकै ठुलो चोट पुर्याएको हुन्छ । जुन आफु रहँदासम्म पनि निको भएर जाँदैन । शरीरको कुनै भागमा लागेको चोटलाई औषधी गरेपछि निको हुन्छ तर मनमा लागेको चोट अहँ, कदापी सन्चो हुँदैन । अरुको अगाडि आफुमा कुनै पीडा नभएझैँ हाँसेर बोले–चलेपनि हाँसेर बोल्दै र चल्दै गर्दा एक्कासी बिगतले मनमा पारेको चोट वा बल्झेर आउँदो रहेछ । सर, आखिर मान्छेको मन न हो कुनै घाउ निको बनाउने र कुनै घाउ निको बनाउन चाहेर पनि निको नहुने हुन्छ ।

आज सर हजुरको माया र स्नेह अनि उचित शैक्षिक वातावरणले गर्दा म स्नातकोत्तर तहको पाठ्यक्रमको पाना पल्टाइरहदा कसैले नकोट्याएर पनि मनमा बिगतले बनाएको मनको चोट चसक्क चस्किरहेको छ । हुन त भौतिक रुपमा त्यो बिगत पुरानो भएर गएको छ अर्थात अब कुरा गर्दा त्यस्तो पनि भएको थियो र ? होइन होला जस्ता नाख खुम्च्याउने र जिब्रो निकाल्ने कार्य होला तर जसले बिगतलाई भोगेको छ त्यसलाई पो थाहा हुन्छ, बिगतले बनाएको घाउ कति पीडादायी हुन्छ भनेर । सायद पीडकलाई पनि उसको स्तर र जमघटले गर्दा गलत सोच्न कसैको मनले मान्दैन होला । कसले पो देख्छ र सेतो कपडा भित्र रहेको छालामा कालो दाग छ भनेर ? जसले मनमा बल्झिने बिगत बनायो उसलाई राम्ररी थाहा छ होला, फलाना ठाउँकी केटी फलाना विद्यालयमा पढेकीलाई मैले पढाउँदा यस्तो गरेको हुँ भनेर । सायद मनमनै गर्व पनि गरेको होला या पछुतो मान्दै पनि । तर हरेक पीडकले बिगतलाई सम्झेर दु:ख मनाउ गर्दैन । बरु गर्वका साथ आफुले गरेको कुकार्यलाई महान सम्झेर बिगतको नालीबेली सुनाउँछ, पीडितले सुन्ने गरेर ।

सर आज यो केटीले के भन्न खोजिरहेकी छे भनेर अन्यौलमा पर्दै हुनुहुन्छ होला, सरलाई यसबारे निकै धेरै जानकारी पनि छ । जसले गर्दा हजुरको जीवनमा नैतिक संकट पनि पारेको हुन सक्छ त्यतिबेला । त्यतिबेला सरले थोरैमात्र ध्यान दिनुभएको भए सायद त्यस्तो मन बल्झाउने बिगतले मेरो जीवनमा गाँठो पारेर बस्ने पनि थिएन होला । मैले माथि नै भनि सकें घरमुलीले सबै कुरामा ध्यान पुर्याउँदा पुर्याउँदै पनि परिवार भित्र नजानिदो तरिकाले गलत सदस्य भित्रिएको हुन्छ भनेर । हुन त सर एक व्यक्ति जो आफ्नो जीवनका भविष्यको बारेमा कुनै जानकार हुँदैन त्यो व्यक्तिले हरेकको मनमनमा पसेर मनको शुद्धता कहाँ जाँच्न सकिन्छ र, तै पनि हरेक मान्छेले बिगतबाट नै नयाँ पाठ सिक्ने हो ।

मेरो मनमा बिगतले सताइरहेको छ । तै पनि मैले बाहिर पोखिन दिएकी छैन । मनमा त्यो बिगतलाई खरानी पार्न जीवनको सफलताको भर्याङ चढ्ने प्रयत्न गर्दै छु र भर्याङका केही खुड्किलाहरु पनि पार गरिसकेको छु । तर म आफ्नो मनले बाटो हिड्न पाइरहेकी छैन । जहाँ जाउँ त्यहाँ बिगतलाई सम्झेर कुरा गर्छन् आफु–आफु काने खुशी । त्यो काने खुशीले मलाई पोल्छ र मलाई असह्य हुन्छ । अनि मनले आफैलाई प्रश्न गर्छ कि त्यति राम्रो वातावरण भएको हजुर जस्तो असल र कर्तव्यनिष्ठ अनि समान नजर भएको कर्तव्यनिष्ठ प्रशासक भएको विद्यालयमा आफ्नो यौनिक जोशलाई सम्हाल्न नसकी शिक्षकले कक्षामा पढाइरहदा पिशाब गर्न गएकी एक अबोध छात्रालाई पिसाब घरमै यौन सन्तुष्टि मेट्न किन बलात्कार गर्छ सर ? जसलाई उसले आफ्नो भबिष्य निर्माण गर्ने र असल बाटो र जीवनको शिक्षा दिने शिक्षक ठानिरहेको हुन्छ । मन्दिर जस्तो पवित्र विद्यालय जसलाई विद्यार्थीले आफ्नो दोस्रो घर मान्ने गर्छन् र त्यहाँ पढाउने शिक्षक शिक्षिकाहरुलाई आफ्नो आमा बुवा सरह मानेका हुन्छन् । त्यस्तो विद्यालयमा यौन पिपाशुहरु शिक्षकको भेषमा आउँदा रहेछन । आज म आचार्य बिष्णु गुप्तको चाणक्य नीति पढिरहेकोे बेला चाणक्य नीति मेरो जीवनमा सफल पुस्तक रहेको अनुभूत गरिरहेको छु ।

सर हुन त हजुरले चाणक्य नीति पढ्नुभएकै होला । चाणक्य नीतिमा कुनै राज्यलाई कब्जा वा ध्वस्त गर्नु छ भने त्यो राज्यमा कसैलाई ज्योतिषको भेषमा, कसैलाई साक्षात भगवानको दूतको भेषमा र कसैलाई सुरा सुन्दरीको भेषमा पठाएर त्यहाँका जनता, राजा, मन्त्री तथा सिपाहीहरुलाई आफ्नो कब्जामा पारेर त्यो राज्यको अस्तित्वलाई आफ्नो राज्यमा बिलय गराएको हुन्छ । त्यहाँका युवाहरुलाई सुरा सुन्दरीहरुको मायाजालमा फसाएर आफ्नो देश र राज्यप्रतिको भावना र कर्तव्यलाई बिर्साएर युवाहरुलाई कमजोर बनाइए झैं कतै हाम्रो विद्यालयको राम्रो शैक्षिक वातावरण धमिलो बनाई विद्यालयको स्रोत र भौतिक पुर्वाधारलाई कमजोर बनाउन त्यस्ता गलत ब्यक्तिहरु योग्यताको प्रमाणपत्र बोकेर राम्रो शिक्षकको भेषमा त आएका होइनन् ? आजभोली पनि त्यस्ता सेता भेषहरु योग्यताको प्रमाणपत्र लिएर त आइरहेका छैनन ? यसबारे हजुर हरेक दिन सचेत हुनुपर्ने देखिरहेकी छु । बिगतको त्यो योग्य शिक्षकको नाममा कक्षाकोठा भित्र छिरेको त्यो शिक्षकले मेरो जीवनमा घटाएको घटना पुनः नदोहोर्याइयोस् म त यहि कामना गरिरहेकी छु । हरेक घटना र बिगत फरक–फरक तरिकाबाट आउने र बित्ने गर्छ । मेरो जीवनमा एक शिक्षक र विद्यार्थीको नाताबाट मन बल्झाउने बिगत बित्यो । यस्तो मनमा चोट पुर्याउने बिगत या वर्तमान या त भविष्य सबै कालहरुमा फरक सम्बन्ध, फरक दृष्टिकोण, फरक बाटोहरु भएर आउन सक्छन् ।

सायद त्यो घटना मैले चाहेको भए लुकाउन सक्थेँ होला त्यति बेलाको मेरो उमेर र अबोध पन भनौँ कि या मेरो जीवनको एक कालखण्ड ? त्यसरी बालात्कृत भएपछि ममा अलिक अफ्ठ्यारोपना आयो । मेरो स्कुल ड्रेस रगताम्य भयो । मैले सर त्यसरी रगत बग्न थालेपछि मैले सरासर अफिसमा गएर घटनाको सबै विवरण विद्यालयको एकाउन्टेन्ट मेडमलाई भनेँ । सायद अफिसमा हजुर हुनुभएको भए मैले हजुरलाई भन्थेँ हुँला । किनभने ममा के कुरा भन्ने के कुरा नभन्ने यसबारे मलाई कुनै ज्ञान थिएन तर आज मलाई केही मात्र पछुतो लागेको छ भने धेरै त मलाई गौरव लागिरहेको छ किनभने शिक्षकको भेषमा हाम्रो विद्यालयको कक्षाकोठा चहार्ने याैन पिपाशुलाई सबैको सामु चिनाउन पाएकोमा । तर त्यतिबेला कसैले पनि त्यसको अनुहार हेर्न पाएनन् । किनभने मेरो जीवनमा पौडी खेलेपछि नै ऊ त्यस विद्यालयबाट भागिसकेको रहेछ । तर फलाना सर हो भन्ने कुरा सबैको मन मष्तिस्कमा भने पसेको थियो ।

हिजो त्यो घटनाले मेरो जीवनमा थुप्रै कोल्टे फेर्ला या नफेर्ला त्यो समयलाई पखिर्नु पर्छ । मत एउटा बिगत काटेर यो ठाउँसम्म आकी छु । किनभने ममा आफु जन्मनुको सार्थकता, यो समाज र देशलाई देखाउनुपर्छ भन्ने भावना छ र म जसोतसो अबका दिन र जीवन पार गरेरै छाड्छु तर जसले बिगत भोग्न पाइरहेका छैनन् र तिनीहरुले मैले जस्तो भोग्न नपरोस् पनि । बिगत भोगाउने र नभोगाउने त घरमा घरमुली, समाजमा त्यो समाजको नेतृत्व, मन्दिरमा पुजारी र देशमा राष्ट्रपति र प्रधानमन्त्री अनि विद्यालयमा त्यो विद्यालयको प्रिन्सिपलको नेतृत्व र योजना निर्माणमा भर पर्दछ । विद्यालय त त्यस्तो ठाउँ हो जहाँ कारागारले सुधार्न नसकेको हरेक बदमासहरुलाई असल मान्छे बनाउँछ । विद्यालय त्यस्तो पुल हो जहाँ हरेक यात्रीलाई विद्यार्थीको रुपमा ग्रहण गरेर उसको गन्तव्यमा पुग्न सहयोग गर्दछ । त्यसैले सर त्यस्तो महान घर र पवित्र मन्दिरलाई सकेसम्म हरेक हत्कण्डा, बदमास, अपराधी र अराजक तत्वहरुबाट बचाइराख्नु पर्छ । र विद्यार्थीहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्र थमाउनु मात्र उसको कर्तव्य हुँदैन, प्रमाण पत्रसंगै त्यो समाज, देश र जनताको सेवा निस्वार्थ भावले गर्न सधैं तत्पर रहने असल नागरिक बनाउनु पनि अर्को ठूलो कर्तव्य र जिम्मेवारी हो । कक्षा उत्तीर्णको प्रमाण पत्र त जन विद्यालयमा पनि दिन सक्छ । तर त्यो समाजको, जनताको सुखदु:खसंग नजिक हुन सक्नु, देशप्रतिको असल भावना र कर्तव्यलाई आफ्नो जिम्मेवारी ठान्ने बनाउन र देशको भौगोलिकतासंग जुध्न सक्ने बहादुर सिपाही बनाउन थोरै मात्र विद्यालयले गरेका हुन्छन । तसर्थ हाम्रो विद्यालयले त्यस्ता सिपाही र कर्तव्यनिष्ठ नागरिक निर्माण गर्न सक्ने विषयवस्तु पनि पाठ्यक्रम अतिरिक्त पढाउनु पर्छ । पढेपछि कि त जागिर खाने कि त बिदेश जाने भावनाको विकास गर्नु राम्रो हुँदैन विद्यालयले ।

ल त सर धेरै कुरा लेखेँ जसले हजुरको समयलाई नाश गरिरहेको छ । तै पनि सर अन्यथा नसम्झी आफ्नै विद्यार्थी सम्झनु होला । थोरै कुरामा धेरै लेख्छु भनेको लेख्दै गर्दा कतिपय भन्ने नपर्ने पनि लेखियो होला । मेरो लेखाइले हजुरको मनमा चोट पुग्न गएमा क्षमा माग्दछु । आजलाई बिदा ।

उहि हजुरको
भुतपूर्व विद्यार्थी