नियात्रा – गुड फ्राइडे इन अ ट्रि–हाउस


छविलाल कोपिला
एक पहिले वर्ष एउटा योजना बन्यो । बर्दियाको डल्ला होमस्टे जाने । त्यसो त हामी प्रायः पहिले नै डल्ला पुगिसकेकाहरूको योजना थियो र केही नयाँहरूलाई लिएर जाने सोच पनि बन्यो । तर, गत वर्षको त्यो योजना सफल हुन सकेन । खासमा यो योजना होमस्टे भन्दा ट्रि–हाउसमा बस्ने भनेर बनेको थियो । ट्रि–हाउस अर्थात रुख–घर शिव सामुदायिक वनले बन्यजन्तु अवलोकनको लागि बनाइएको घर हो ।
गजलकार अभि क्षेत्री समर्पणको फोन आयो । निकै लामो समयपछि फोन संवाद भएको थियो उहाँसँग । यही संवादकै क्रममा गतवर्षको योजना बारे कोट्याउनु भयो र पुनः योजना नवीकरण भएको हो । सायद यो चैतको पहिलो साताको संवाद थियो । चैत महिनाको सबै शनिवार कार्यक्रम तालिका बनिसकेकोले बैशाखको पहिलो साता समय तालिका निर्धारण गरियो । जसानुसार बैशाख ६ गते शुक्रबार साँझ ट्रि–हाउस र शनिबार कैलालीको टीकापुर पार्क घुमेर फर्किने कुरामा मोटामोटी सहमति बन्यो ।
बर्दिया राष्ट्रिय निकुञ्ज आफैमा प्रकृतिका अनुपम सुन्दरता बोकेको ठाउँ हो । जैविक विविधता यसको बिशेषता हो । वन, वन्यजन्तु, पशुपन्छी र त्यसको संरक्षणले प्राकृतिक सुन्दरता त छँदैछ, त्यसमा पनि विभिन्न जातीय कला, संस्कृतिले अझ सुन्दर बनाइदिएको छ । यसकारण पर्यावरण सँग–सँगै पर्यटकहरूको लागि पनि यो ठाउँ आकर्षक बनेको हो ।
हाम्रो यात्रा मोटरसाइकलमा तय भयो । संख्या ४–८ जनासम्मको बन्यो । ट्रि–हाउसको क्षमता ८–१० जनाकोले त्यसो गरिएको हो । तर, कतिपय साथीहरूको व्यस्तता र साधनकै कारण हामी ४ को संख्यामा मात्र सीमित रह्यो । गुरुप्रसाद कुमाल ‘बुलबुल’, आशिष कल्पवृक्ष, अभि क्षेत्री समर्पण र म जाने कुरा निश्चित भइसकेपछि डल्लाका मित्र सुदीप थारू मार्फत शुक्रबारका लागि ट्रि–हाउस छेकाइयो र सोही अनुरुप त्यहाँ पुग्ने जानकारी पनि गराइयो ।
बैशाख ६ गते १२ बजे अमिलिया भेट हुने फोन संवाद भयो । त्यसै अनुसार तुलसीपुरबाट अभि क्षेत्री समर्पण र बाँकी हामी तीन जना लमहीबाट निर्धारित समयमै आइपुग्यौं । अमिलियामा चिसो खाएर हाम्रो टोली पश्चिम यात्रामा हिड्यो । मोटरसाइकलको यात्रा, केही ठाउँमा बिश्राम गर्दै ५ बजे बर्दियाको भुरीगाउँ बजार पुग्यौं । त्यहाँ चिया खाएर नेउलापुरको बाटो भएर हिड्यौं । मुख्य राजमार्गबाट आम्बासा ठाकुरद्वारा जाने मुख्य प्रवेशद्वार हो तर, हामी छोटो बाटो रोज्यौं ।
डल्ला पुग्दा ६ बजिसकेको थियो । ट्रि–हाउस जंगल भित्र छ । ठाउँमा गइसकेपछि फर्किएर आउन पनि नहुने त्यसैले साँझ खानलाई केही खाजा किन्यौं र हाम्रो सम्पर्कमा रहनु भएका मित्र सुदीप थारूलाई उहाँकै घरमै भेट्यौं । सुदीप पर्यटकहरूको अनुमति प्राप्त पथप्रदर्शक पनि हो । उहाँले देशी–विदेशी पर्यटकहरूलाई वन, वन्यजन्तु अवलोकन गराउनु हुन्छ र यस विषयमा राम्रो जानकारी पनि छ । होमस्टे नं.१७ उहाँको घर । प्रायः भ्रमण टोलीहरू पनि उहाँकै सम्पर्कमा रहन्छन् ।
डल्लामा स्वागतको पनि आफ्नै चलन छ । पहुनाहरूलाई फूल र टीका सामान्य चलनजस्तै बनिसकेको छ । स्वागतको त्यो अवसर पनि प्राप्त भयो । हामी त्यहाँ पुग्दा फूलको गुच्छा सहित श्रीमती सुदीप स्वागतका लागि आँगनमा उपस्थित हुनुहुन्थ्यो । मोटरसाइकल राखिसकेपछि आलोपालो हामी चारै जनालाई रातो टीका र फूलको थुङ्गा दिनु भयो । स्वागतले बैशाखको प्रचण्ड घाम र थकान पनि दूर भएको महशुस भयो । चिसो पानीले जिउ आनन्द भयो । रातो टीका र फूलले संकेत गरिरहेको थियो आजको बसाई शुभ रहनेछ । हामी यो विषयमा विश्वस्त थियौं । केहीबेर आराम ग¥यौं । हामीसँग समय थिएन । वन्यजन्तु हेर्नका लागि उज्यालै पुग्नु पर्ने भएकोले मित्र सुदीपले आफ्नो गाडीमा आधा बाटो र आधा बाटो हिडेर ट्रि–हाउससम्म पु¥याउनु भयो । र, उहाँ हाम्रो लागि खाने लिएर आउने सर्तमा फर्किनु भयो ।
हाम्रो चार जनाको टोली ट्रि–हाउसको पहिलो तलामा बस्यो । माथिल्लो तलामा आवास कोठा छ । हामी तल्लो तलामै बसेर उज्यालो हुँदासम्म दृश्यावलोन ग¥यौं । चारैतिर जंगल, जंगलबीचमा एउटा सीमलको रुख र रुखमा घर छ । हामी त्यही रुख घरमा बसेर निकै टाढासम्म वनको हरियाली फाँट, फाँटमा चरिरहेका चित्तल, बाह्रसिंघे देख्यौं र मयुर, बनकुखुरा लगायतका पन्छीहरूका सुमधुर आवाज सुन्यौं । हामी आउँदा बाटोमा हाम्रै अगाडिबाट चित्तलहरू दौडेको पनि देख्यौं । यो हाम्रो सौभाग्य थियो । हाम्रो लालसा थियो हात्ती, गैंडा, बाघ हेर्ने तर त्यो अवसर मिलेन ।
हामी ढिलो पुगेकोले हामीलाई उज्यालो धेरैबेर साथ दिएन । हामी बसेको तलामा चार वटा बेटवाँसका मुढा र एउटा टेबुल छ । चारै जना बसेर बोकेर ल्याएको खाजातिर लाग्यौं र सँग–सँगै गजल वाचन पनि शुरु भयो । आशिषले भिडियो खिच्ने कोशिस गरे तर उज्यालो साथ दिएन उनले खिच्न सकेनन् । जंगलमा बत्तीको सुविधा छैन । मैनबत्ती थियो मन्द हावा चलिरहेकोले बाल्न सकिएन । हामी मोबाइलको उज्यालोमा खाजा खाँदैं र कविता, गजल र मुक्तकका विषयमा आ–आफ्ना अनुभवहरू बाड्यौं, सिर्जनकला र रचना गर्भको विषयमा छलफल ग¥यौं र विभिन्न लेखकहरूका शैली र विषयवस्तुको बारेमा पनि छलफल ग¥यौं । त्यति मात्रै होइन, हामीले आत्मा समीक्षा पनि ग¥यौं, हाम्रो कमीकमजोरी स्वीका¥यौं र निकासको बारेमा गम्भीर छलफल भयो । त्यसकारण पनि हाम्रो यो बसाई निकै महत्वपूर्ण रह्यो । प्रायः साथीहरूसँगको बसाई खानपिन र हाँसो मजाकमै बित्ने गर्छ । तर हामीले यो समय उपयोग ग¥यौं । हाँसो मजाक हुँदै नभएको भने होइन तर हामीले गरेको महत्वपूर्ण कुराले यी विषयहरू गौंण रहे ।
करिब नौ बजेतिर मित्र सुदीप एक जना साथीलाई लिएर हाम्रो लागि खाना बोकेर आउनु भयो । तीन वटा बट्टामा खाना आएको थियो । एउटा बट्टामा रोटी, अर्को दुइ वटा बट्टामा सुंगुर र कुखुराको मासु अलग अलग राखिएको थियो । हामीलाई खाना छोडेर उहाँहरू दुबै फर्किनु भयो । सुदीपजी पनि हामीसँगे बस्ने कुरो थियो तर उहाँको मेडम् बिरामी भएका कारण उहाँ जानु पर्ने भयो र जानु भयो । उहाँसँग पनि साथीहरूको होमस्टे, ट्रि–हाउस, शिव सामुदायिक वन व्यवस्थापन बारे केही जिज्ञासा थिए होलान् । तर समयले साथ दिएन । यो मेरो तेस्रो पटकको बसाइ थियो ट्रि–हाउसमा । यसभन्दा पहिलो र दोस्रो पटकको बसाइमा सुदीपजी हामीसँगै बस्नु भएको थियो, यसपाली छुट्नु भयो । थोरै नमज्जा लाग्यो ।
हामीसँग खाजा बाँकी नै थियो, रोटी र मासु पनि थपियो । पुरक कुराहरू फेरि जोड्यौं । तबसम्म जून पनि लागि सकेको थियो । जूनको उज्यालोले धुमिल दृष्टि केही परसम्म देख्न सकिन्थ्यो । जंगलको बास, कहिलेकाहीं नसोचेको हुनसक्छ । त्यसैले बेला–बेला नजर गरेर बस्ने निर्देशन थियो । कुरा उहि साहित्यमै केन्द्रित रह्यो । कहिलेकाहीं विषयान्तर भएर जीवन भोगाइसम्म आइपुग्थ्यो । कहिले कुरा उत्ताउलिन्थ्यो पनि र हाँसोको फोहरा दूर–दूर पुग्थ्यो । यो क्रम करिब १२ बजे रातीसम्म चल्यो । त्यसपछि हामी माथिल्लो तलाको आवास कोठामा गएर सुत्यौं । सुतेपनि जनावर हेर्ने चाहना मरेको थिएन । ठाउँसारी भएपछि निन्द्रा पनि लाग्न छाडेको थियो । जूनको उज्यालोमा झ्यालबाट पटक पटक चिहाएर हेरियो तर चाहना पुरा भएन, जनावर देखिएनन् । मयुर भने रातभरि कराएको सुनियो । करिब २ बजे मात्रै निदाइएछ ।
६ बजेतिर सबै ब्यूतियौं । मयुरको सुमधूर आवाज अझै उसैगरी सुनिदैथ्यो । दक्षिण र उत्तरतिर केही चित्तलहरूको बथान चरिरहेको पनि देखियो । हामी नित्यकर्ममा लाग्यौं । तबसम्म घाम लागिसकेको थियो । हामीले केही तस्वीर लियौं र राती बसाइ–सुताइको समीक्षा ग¥यौं । उपलब्धिमुलक, सन्तोषजनक र सम्झना लायक रहेको निष्कर्षमा पुग्यौं ।
बिहानको तालिका थियो जंगल घुम्ने । सुदीपजीले जंगल डुलाउने जिम्मा लिएर हिजो छुट्टिनु भएको थियो । उहाँ सवा सात बजे हामीकहाँ आइपुग्नु भयो । केही तस्वीर उहाँसँग पनि लियौं र जंगल अवलोकनमा निस्क्यौं । उहाँसँग विभिन्न विषयमा छलफल गर्दै जंगल घुम्यौं । जनावरहरूको लागि आहाल बस्ने र पानी खानलाई बनाइएको पोखरी र त्यसको नजिकै अवलोकनको लागि बनाइएको पक्की भवन पनि हे¥यौं र फर्कियौं ।
मधुवन नगरपालिका–१ डल्ला गाउँ । जहाँ २२ वटा घरमा होमस्टे सञ्चालनमा छन् । स्थानीय उत्पादनबाट बनेका अन्नका परिकार, तरकारी, कुखुराको मासु, अनडीको भात, ढिक्री, खँरिया मौलिक खानाहरू पाइन्छ । आवश्यकता अनुसार जाँडको झोल, रक्सी पनि पाइन्छ । सफा–सुग्घर घर, विभिन्न थरिका थारू संस्कृति झल्किने नाच र त्यहाँका स्थानीयहरूको बोली व्यवहार डल्ला गाउँको आकर्षण हो । त्यहाँ आउने पाहुनाहरूको स्वागतका लागि सांस्कृतिक भवन पनि छ । जहाँ सांस्कृतिक प्रस्तुति हुन्छ ।
२०७३ सालदेखि सञ्चालनमा रहेको ट्रि–हाउस अर्को महत्वपूर्ण आकर्षण हो । शिव सामुदायिक वनक्षेत्रभित्र रहेको यो घर सीमलको रुखमा बनाइएको छ । यो घर लोपोन्मुख एकसिंघे गैंडा, पाटे बाघ, हात्ती लगायत अन्य पशु पन्छी अवलोकनको लागि बनाइएको हो । दुइ वटा तलामा बनाइएको यो घरको पहिलो तला बिश्राम तथा खाजा हलको रुपमा रहेको छ । चार बटा बेटवाँसका स्टुल र एउटा टेबुल रहेको छ भने माथिल्लो तलामा झुल सहितको बिस्तरा रहेको छ । जहाँ निशंकोच रात बिताउन सकिन्छ । अहिले यहाँ वास बस्नेको संख्या बढ्दो छ । ठाउँ सुरक्षित गर्न एक हप्ता अगावै जानकारी गराउनु पर्छ अन्यथा पाउन मुस्किल पर्छ ।
हामीले एक रातको बसाइमा भरपूर आनन्द लियौं । हाम्रो पूर्व योजना टीकापुर पार्क पुग्नु थियो । बिहान साढे आठ तिर त्यहाँबाट बिदा लिएर निस्कियौं । डल्ला गाउँको दक्षिणमा रहेको गाउँ पत्थरबोझी भएर अगाडि बढ्यौं । पत्थरबोझी म गत वर्ष १७ दिन बिताएँ । थारु भाषाको चलचित्रको सुटिङको सिलसिलामा म बसेको हुँ । त्यसकारण मेरो लागि चिरपरिचित गाउँ हो । भरखरै माटो पटान र गिट्टी ओछ्याउने काम भइरहेको थियो बाटोमा । त्यसकारण उठान र पट्कानका बावजुद हामी पुग्यो हुलाकी सडक । नेपालगञ्ज–राजापुर सडक अझै पनि कालोपत्रे हुन सकेको छैन । धुलो चिर्दै मोटरसाइकलको यात्रा निकै कष्टपूर्ण रहयो । नेपालको सबैभन्दा लामो कोठियाघाटको पुल अवलोकन ग¥यौं । सत्तीघाटको पुल पनि अवलोकन ग¥यौं र टीकापुर पुग्यौं । टीकापुर पार्क अवलोकनकै क्रममा चार जनाको एउटा लघु कवि गोष्ठी पनि सम्पन्न भयो ।
दिउँसोको १२ बजिसकेको थियो । खानाको व्यवस्था गजलकार मित्र रामचन्द्र चौधरीले आफ्नो ससुराली गाउँ पठरैयामा मिलाएका थिए । उनी हामीलाई लिन पार्कमै आएका थिए । खाना खाएर हामी त्यहाँबाट पनि हिड्यौं । कर्णाली चिसापानीमा केहीबेर बिश्राम लियौं र तस्वीरहरू पनि खिच्यौं । बबइमा माछा, गोही हेर्ने योजनाका साथ हिड्यौं । बबइ पुग्दा साढे दुइ बजिसकेको थियो । यसपाली माछा हेर्ने धोको पुरा हुन सकेन । माछा देखिएनन् । माछालाई चारो भनी बचाएको भुजा फिर्ता लिएर आउनु पर्ने अवस्था आयो हामी आफ्नै गन्तव्य तिर लाग्यौं । घर पुग्दा ७ बजिसकेको थियो । यसपालीको यात्रा निकै आनन्दमय रह्यो ।